सहारा क्लबलाई हराउँदै थ्रीस्टार क्वाटरफाइनलमा

काठमाडौं, ९ माघ । थ्रीस्टार क्लब पोखरामा सुरु भएको २३औं आहा ! रारा पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजक सहारा क्लबलाई २-१ गोलअन्तरले हराउँदै थ्रीस्टार अन्तिम ८ मा पुगेको हो ।
थ्रीस्टारको जीतमा जिताउन योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे । सहाराका आशिष गुरुङले गरेको गोल सान्त्वना बन्यो । पहिलो हाफ १-१ को बराबरीमा सकिँदा दोस्रो हाफमा थ्रीस्टारले विजयी गोल गरेको थियो ।
खेलको पाँचौं मिनेटमा थ्रीस्टारका कप्तान योगेश गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । डिबक्सभित्र रिबाउन्डमा आएको बललाई उनले पोस्टको जाली चुमाउँदै पहिलो गोल गरे ।
२३औं मिनेटमा सहाराका आशिष गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । लक्ष्मण रुचालको फ्रिकिकबाट आएको बललाई उनले हेडरमार्फत गोल गरे । पहिलो हाफ १-१ को बराबरीमा सकियो ।
पहिलो हाफभन्दा कमजोर खेल प्रदर्शन गरेको सहाराले दोस्रो हाफमा लय गुमाउँदा थप गोल गर्न सकेन र गोल व्यहोर्न पनि पुग्यो । ५९औं मिनेटमा एन्जल गुरुङले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
थ्रीस्टारले अब सेमिफाइनल प्रवेशका लागि शनिबार भुटानको पारो एफसीसँग खेल्ने छ । भोलि बुधबार नवलपरासी सुनवलको राइजिङ स्टार एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

