इटहरीको लाइसेन्स कार्यालयमा किन यस्तो हुन्छ ?

ताराप्रसाद पोख्रेल

इटहरी,९माघ। पुर्वको इटहरीमा रहेको यातायात कार्यालय अन्तर्गत सवारी अनुमति पत्र बितरण गर्ने कार्यलयमा अनौठो गतिविधि हुने गरेको छ।

खासगरी सवारी चालकको अनुमति पत्र अर्थात लाइसेन्स बनाउने ठाउँमा अनियमितता हुने गरेको जनगुनासो आइरहेको छ। यो क्रम अझै निरन्तर रहेको भन्ने गुनासोको आधारमा त्यहाँ भैरहेको ट्रायल सेन्टर पुग्दा अझै अचम्मको अवस्था देखियो।

त्यहाँको ट्रायल लिने तरिका देख्दा देशमा भ्रष्टाचार भन्दा पनि खतरनाक गतिविधि यातायात कार्यालयमा देखिएपछि हामिले त्यहाँको तस्वीर लिन खोज्यौ।जुन स्थानमा इटहरी लाइसेन्स कार्यलयले डोजरको ट्रायल लिइरहेको थियो त्यहा पुगेपछि हामीले अझै गज्जब र रोचक तथ्य भेट्टायौ।

ट्रायल दिने ठाउँ इटहरीदेखि पुर्व गछिया चोकबाट झण्डै १ किमि माथी रहेछ। अति गोप्य र सिसौघारीको बिचमा रहेको त्यस ठाउँमा परिक्षार्थी, यातायात कार्यलयका प्रमुख टंक प्रसाईं र ट्राफिक प्रहरी थिए। त्यो ठाउँ ट्रायल लिने वा ट्रायल दिने जस्तो अवस्थामा देखिदैनथ्यो। तर, ट्रायल भने भैरहेको थियो।

आजको युगमा हरेक कुरा पारदर्शी र सिसि क्यामेराले कैद गर्ने ठाउँमा यस्ता सेवा कार्यालय हुनुपर्नेमा त्यहाँ केही ब्यक्ति मिलेर ट्रायल लिनु र पास फेल छुट्याउनु गज्जब कुरा हुने नै भयो। ट्रायल दिनको लागि गएका केही ब्यक्ति र ट्राफिक प्रहरीका प्रतिनिधि संगै यातायात कार्यालयका कर्मचारीले यातायात कार्यालयका प्रमुख प्रसाईंको उपस्थिति र सपोर्टमा ट्रायल लिइएको देखियो। यसले के बुझिन्थ्यो भने त्यहाँ मान्छे हेरेर पास वा फेल गर्न सकिन्थ्यो। जसबाट आर्थिक लाभ समेत हुनसक्ने आशंका उब्जनु स्वभाविक हो।

यातायात कार्यालयकै प्रमुख टंक प्रसाईं समेतको उपस्थितिमा ट्राफिक र यातायातका कर्मचारीले ट्रायल लिएपछि पनि केही ब्यक्ति संग रकम लेनदेन समेतका कुरा भएको गाइगुइ सुनिएपछी हामिले फोटो लिन थाल्दा उल्टै तस्वीर नखिच्न र खिचेमा राम्रो नहुने सम्मका कुरा गरियो।

ट्रायल लिएको तस्वीर पत्रकारले खिच्दा ‘फोटो किन खिचेको ?’ त्यो डिलिट गर्नुस भन्दै यातायात हाकिम टंक प्रसाइ र ट्राफिकको प्रतिनिधिले रोक्न खोजे।’यहाँ फोटो खिच्न पाइदैन किन अनुमती नलिइ खिच्नुभयो ?’ उनीहरुको भनाइ थियो।

यदि त्यहाँ सहि काम भैरहेको थियो वा कुनै आर्थिक चलखेल नभएको र साच्चिकै निष्पक्ष ट्रायल भैरहेको भए पत्रकारलाई फोटो खिच्न र प्रश्न सोध्न किन रोक लगाएको भन्दै केही सहभागी प्रशिक्षार्थी भन्दै थिए।
एकातिर एकान्त ठाउँमा ट्रायल राख्नु र अर्कोतिर तस्वीर खिच्न वा प्रश्न सोध्न नदिनुले यातायात कार्यालयको काम प्रती आशंका उब्जिएको छ।के त्यहाँ ट्रायल दिनेहरु ट्रायल दिएकै भरमा उतिर्ण भएर लाइसेन्स पाउछन् ? वा अन्य आर्थिक भेटी चढाउनुपर्छ ? यसको जवाफ सम्बन्धित कार्यालयले दिने नै छ। बाहिर हल्ला भएजस्तो डोजर वा ठुला सवारी साधनको ट्रायलमा पास गराउदा ४०/५० हजार सम्म पैसा लिइदैन र स्वच्छ काम हुन्छ भने यातायात कार्यालयको बद्नाम किन भैरहेको छ ? यो आजको प्रश्न हो ।

अर्कोतिर ट्रायल दिन आउनेहरुले ट्रायल दिने सवारी साधन (डोजर) आफै ब्यबस्था गर्नुपर्ने पनि रहेछ । त्यो एउटा ट्रायल दिन आउने मजदुरले कसरी डोजर ब्यबस्थापन गर्न सक्छ ? त्यसको लागि डोजर उपलब्ध गराउनेले छुट्टै पैसा लिने पनि गुनासो सुनियो । एक ब्यक्तिको भनाइ अनुसार डोजर उपलब्ध गराउने र यातायात कर्मचारी बिचपनि केही सहमति भएपछि मात्रै सहज रुपमा ट्रायल दिन पाइने रहेछ।

यसैगरी इटहरीको यातायात कार्यालयको लाइसेन्स शाखाको कार्यलयमा सुरक्षाको दृष्टिकोणले भन्दा पनि  कोहि ब्यक्ति अचानक आउन नपाउन भनेर आफू अनुकुलको गार्ड राखेको समेत देखियो। लाइसेन्स शाखामा हुने अनियमितता प्राय सेटिङ्गमा हुने र त्यसमा केही ड्राइभिङ्ग स्कुल सन्चालन गर्नेहरू समेतको मिलेमतो हुने गरेको गुनासो बेला बेला बाहिर आइरहेको छ।

ट्राफिक कार्यालय,यातायात कार्यालय र ड्राइभिङ स्कुल संचालकको मिलेमतोमा केही कामहरू हुनेगरेको पनि जनगुनासो आइरहेको छ।त्यसैको कारण पनि हुनसक्छ कयौं कर्मचारी भ्रष्टाचारमा संलग्न भएको भन्दै अख्तियार र अदालतमा धाइरहेका भेटिन्छन्। पछिल्लो समय देशका केही यातायात कार्यालयको नाममा नक्कली लाइसेन्स समेत भेटीएका खबरहरु बाहिर आइरहेका छन् । यस्तो कार्यमा इटहरी यातायात कार्यालय नपरोस् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय