बौद्धनाथ क्षेत्र विकासद्वारा जेष्ठ नागरिकलाई धार्मिक भ्रमण

काठमाडौ,९ माघ । श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा वडा भित्रका ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण गराइएको छ।
काठमाडौं महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरूको सम्मान स्वरूप उनीहरुलाई पर्यटकीय क्षेत्र लुम्बिनी लगायतका धार्मिक स्थलहरूको भ्रमण गराएको समितिले जनाएको छ। भ्रमणमा गएका जेष्ठ नागरिकले समितिको यस कार्यको मुक्तकण्ठ्ले प्रशंसा गरेका छन्।

ज्येष्ठ नागरिकहरूको चाहना अनुसार नै भगवान गौतम बुद्धको जन्मथलो एवं प्रशिद्ध धार्मिक क्षेत्र लुम्बिनी सहित अन्य क्षेत्रको भ्रमण गराइएको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बताए।’हामीले उहाँहरुको सम्मानमा यो भ्रमण गराएका हौ’,-अध्यक्ष लामाले भने-,’जेष्ठ नागरिकको लागि यस्तै खाले कार्यक्रमलाई हामी आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’
अध्यक्ष लामाकै नेतृत्वमा ज्येष्ठ नागरिकहरूको धार्मिक भ्रमण गराइएको थियो। सो क्रममा लुम्बिनीमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन, भ्रमण एवं विभिन्न मन्दीर,चैत्य र गुम्बाको दर्शन गराइएको थियो। भ्रमणमा वडा नं ६ भित्र बसोबास गर्ने ज्येष्ठ नागरिक र स्वयम् सेवकको सहभागिता रहेको थियो।

काठमाडौंको बौद्धबाट सुरु भएको उक्त भ्रमणका लागि समितिले सात वटा सुबिधायुक्त बसको व्यवस्थापन गरेको थियो । भ्रमणमा समितिका अध्यक्ष राजकुमार लामा, कार्यकारी निर्देशक शान्तीमाया तामाङ सदस्यहरू पशुपतिनाथ खतिवडा, श्याम शेर्पा, शैलेश श्रेष्ठ, सुरज रुम्बा, स्थानीय प्रेम लामा मोक्तान,अजिप लामा, लगायतले जेष्ठ नागरिकलाई सहजीकरण गरेका थिए ।
काठमाडौबाट लुम्बिनी पुगेपछि टोलीलाई लामा गुरु लाक्पा शेर्पाले गुम्बामा स्वागत गरेका थिए । त्यसपछि लुम्बिनीको मायादेवी मन्दिर लगायतका धार्मिक स्थल अवलोकन पश्चात् प्राचीन कपिलवस्तु राज्य अन्तरगतको पुरातात्त्विक स्थल कुदानको पनि भ्रमण गराइएको थियो । कुदान पश्चात् बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबार, कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा रहेको अशोक स्तम्भ लगायतको अवलोकन गराइएको अध्यक्ष लामाले बताए।

भ्रमण अवधीभर निःशुल्क यातायातको व्यवस्थापन सहित खाने बस्ने सुविधा तथा धार्मिक भ्रमण गर्न पाउँदा जेष्ठ नागरिकहरू निकै खुसी भएको आयोजकको भनाइ छ।’जेष्ठ नागरिक इतिहासको ऐना भएकोले उहाँहरूको सल्लाह सुझाव हाम्रो लागि शिरोधार्य हुनेछ’-अध्यक्ष लामाले भने-‘जेष्ठ नागरिक समाजका गहना र हाम्रा मार्ग निर्देशक पनि भएकोले यस्ता भ्रमण फलदायी हुने रहेछ।’




