२३औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदै
उद्घाटन खेलमा थ्रीस्टार र सहारा भिड्ने
पोखरा, ९ माघ । मोफसलकै सर्वाधिक चर्चित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण आजदेखि पोखरामा सुरु हुँदै छ । सहारा क्लब पोखराको आयोजनामा माघ २० गतेसम्म पोखरा रङ्गशालामा चल्ने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा मङ्गलबार ए डिभिजन क्लब थ्रीस्टार र आयोजक सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुने छ । थ्रीस्टार पाँचपटकको विजेता टोली हो भने सहाराले एकपटक उपाधि जितेको छ ।
प्रतियोगितामा ११ नेपाली टोली तथा भुटानको लिग च्याम्पियन क्लब पारो एफसीको पनि सहभागिता रहेको छ । पारो एफसी पहिलो पटक नेपाल आउन लागेकव हो । प्रतियोगितामा आयोजक सहारा क्लबसहित नेपालका ‘ए’ डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज क्लब, मछिन्द्र एफसी, जावलाखेल यूथ क्लव र थ्रिस्टार क्लबको सहभागिता रहने छ भने विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब सहभागी हुने छन् । त्यसैगरी नवलपरासी सुनवलको राइजिङ स्टार क्लबको समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ ।
प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफीसँगै नगद पुरस्कार १२ लाख रुपैयाँ पाउने छ भने उपविजेताले ६ लाख रुपैयाँ नगद प्राप्त गर्ने छ ।

