तीन महिनाअघि हत्या, शव फेला परेको तीन दिनमा अभियुक्त पक्राउ

काठमाडौं, ७ माघ । काठमाडौंको स्वयम्भूमा तीन महिनाअघि एक महिलाको हत्या गरी फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

गत कात्तिकमा सँगै डेरा गरी बस्‍ने तनहुँको भिमाद नगरपालिकाकी ५१ वर्षीया सफिना मियाको हत्या भएको थियो । डेराभित्रै उनको शव सडेको अवस्थामा माघ ३ गते फेला पर्‍यो । कोठाभित्रबाट गन्ध आएपछि घरबेटीले कोठा खोलेर हेर्दा शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार जाँचका क्रममा मृतकको टाउकोमाभारी वस्तुले हिर्काएको घाउ भेटिएको थियो भने मृत्युको प्रारम्भिक कारणमा घाँटी थिचिएका कारण मृत्यु भएको देखिएको थियो । अनुसन्धान गर्दै जाँदा सँगै बस्‍ने ४३ वर्षीय भारतीय नागरिक इकरामुल हक अन्सारी फरार रहेको थाहा भएपछि प्रहरीले उनीमाथि शंका गरी अनुसन्धान अघि बढायो ।

भारतको दरभंगा जिल्ला बिहार प्रदेश लालबाग थाना घर भएका  घटनालगत्तै फरार भएका थिए। उनलाई काठमाडौं प्रहरी परिसरले हत्या आरोपमा पक्राउ गरेर सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार उनले महिलाको हत्या गरेको स्वीकार गरेका छन् । आफूसँग सम्बन्धमा रहेकी महिलाले अरु पनि पुरुषलाई कोठामा ल्याएको थाहा पाएपछि हत्या गरेको उनले बताएका छन्। घटनाको दिन रक्सी खाएर फर्किएको र झगडा भएपछि आग्लोले हानेर उनले महिलाको हत्या गरेका थिए। घटनापछि उनी टाटासुमो चढेर वीरगञ्जको रक्सौल नाका हुँदै भारत भागेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय