मौलिक परिकार तथा स्थानीय उत्पादनको मेला सुरु
सरकार पनि साथमा छ-कृषिमन्त्री भुषाल
काठमाण्डौं,२माघ।‘बसे पनि शहर, गाउँ कैँ खाने रहर, स्वादका लागी भन्दा स्वास्थ्यका लागि खाऔँ’ भन्ने स्लोगन सहित काठमाडौंमा मौलिक परिकार तथा स्थानीय उत्पादनको मेला सुरु भएको छ।
बुढानिलकण्ठ नगरपालिका-१० कपनस्थित वर्ल्डमार्ट युनिक सोलुशन प्रालीद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले जैविक विविधता दिवस तथा माघे संक्रान्तिको अवसरमा मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला सुरु गरेको हो । मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकार तथा स्थानीय उत्पादनहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले सुरु भएको मेलाको कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले उद्घाटन गरे।
सो अवसरमा मन्त्री भुसालले कृषि उत्पादनको वृद्धिसंगै मौलिक तथा रैथाने उत्पादन जोगाउँन मौलिक बजार तथा भान्छाघरले गरेको प्रयास स्वागतयोग्य भएको बताए।’मौलिक बजारले ७५३ स्थानीय तहको कृषि तथा मौलिक उत्पादनको बजारीकरणका लागि सुरु गरेको प्रयास स्वागतयोग्य छ,’मन्त्री भुसालले भने-‘यस्ता खालका अभियान तथा कार्यलाई सरकारले पनि साथ दिनेछ।यसलाई व्यापक रुपमा अघि बढाउनुपर्छ।’

मौलिक बजार तथा भान्छाघरले ७ वटै प्रदेश र विभिन्न जातजातीको विशेषता अनुसार ७ प्रदेश–७ परिकार, ७ पन्छी-७ स्वाद, ७ संस्कृति–७ पहिरन, सातै दिन सांस्कृतिक साँझको व्यवस्था हुनेगरी गरेको काम नेपाल मै नयाँ र रचनात्मक भएको पनि मन्त्री भुसालले बताए। उनले कृषिजन्य वस्तुको उत्पादनको वृद्धि गर्नका लागि छिट्टै कृषि ऐन ल्याउने तयारी भइरहेको समेत जानकारी दिए।
कार्यक्रममा मौलिक बजार तथा मौलिक भान्छाघरका सञ्चालक सुमन दाहालले सरकारको सामान्य सहजीकरणले पनि ७५३ वटै स्थानीय तहको उत्पादनको ब्रान्डिङ गर्दे सबै पालिकाहरुमा खरिद बिक्री केन्द्र सञ्चालन गर्न सकिनेमा जोड दिए।
उनले आफ्नै देशमा स्थानीय उत्पादनको बजारीकरण र खपतका लागि प्रत्येक पालिकाकको क्यान्टीनमा मौलिक परिकारको मेनु सञ्चालन गर्नुपर्ने पनि बताए।
उद्घाटन कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले सरकारले कृषि र पर्यटनलाई जोड्दै आगामी दिनमा त्यसलाई पाठ्यक्रममा नै समावेश गर्ने हो भने यस्ता कामको प्रभावकारी कार्यान्वयन हुने र स्थानीय उत्पादनले बजार पाउने तथा नेपाली उपभोक्ताले स्वस्थ खानेकुरा खान पाउने बताए।

मौलिक बजार मौलिक भान्छाघरले अर्गानिक फार्म, पशुपन्छी फार्म, फार्मस्टे, एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग, ७५३ वटै स्थानीय तहहरुमा खरिद बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहालय साथै देशभित्रका मौलिक चाडपर्व, संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्न ७ प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक–भान्छाघर तथा सांस्कृतिक हल समेतको मौलिक परियोजना सञ्चालन गरिरहेको छ ।
मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकारहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्वन गर्ने मौलिक बजार तथा मौलिक भान्छाले यही माघ १ गते देखी ७ गते सम्म दुई हजार भन्दा बढी आगन्तुक भित्राउने लक्ष्य सहित मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गरेको हो ।
कार्यक्रममा माघे संक्रान्ति तथा ७ प्रदेश विशेष परिकार र ८४ व्यञ्जनका साथै सांस्कृतिक कार्यक्रमको साथमा सातै प्रदेशका स्थानिय पालिकाको उत्पादनको स्टल र ४२ व्यञ्जनको बुफेट समेत रहनेछ ।


