एपिएफलाई हराउँदै पुलिस बन्यो राष्ट्रिय भलिबल च्याम्पियन

सुर्खेत, २६ पुस । नेपाल पुलिस क्लबले ३४औँ राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बिहिबार भएको फाइनलमा एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पुलिसले १ सेट पछि परेको अवस्था उल्टाउँदै एपिएफलाई हरायो । पहिलो सेट २२–२५ ले गुमाएको पुलिसले त्यसपछि २५–१९, २५–१८ र २५–२३ को जीत निकाल्यो । उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
बिहीबारै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा हरायो ।

