२३औं आहा ! रारा पोखरा गोल्डकपमा १२ टोलीको सहभागिता
दिल्ली एफसी र पारो एफसी पहिलोपटक सहभागी
पोखरा, २६ पुस । २३औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा १२ टिमको सहभागिता रहने भएको छ । सहारा क्लब पोखराको आयोजनामा यहि माघ ९ देखि पोखरा रङ्गशालामा सुरु हुने प्रतियोगितामा १२ टिम सहभागी हुने बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
प्रतियोगितामा १० नेपाली टोली तथा भारतिय फुटबल लिग ‘आइ-लिग’ टोली दिल्ली एफसी र भुटानको लिग च्याम्पियन क्लब पारो एफसीको पनि सहभागिता रहने क्लबले जनाएको छ । दिल्ली एफसी र भुटान एफसी पहिलो पटक नेपाल आउन लागेका हुन् ।
प्रतियोगितामा आयोजक सहारा क्लबसहित नेपालका ‘ए’ डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज क्लब, मछिन्द्र एफसी, जावलाखेल यूथ क्लव र थ्रिस्टार क्लबको सहभागिता रहने छ भने विभागिय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब सहभागी हुने छन् । त्यसैगरी नवलपरासी सुनवलको राइजिङ स्टार क्लबको समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ ।
प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफीसँगै नगद पुरस्कार १२ लाख रुपैयाँ पाउने छ भने उपविजेताले ६ लाख रुपैयाँ नगद प्राप्त गर्ने छ ।

