कर्णालीमा मोटरसाइकल खस्यो, श्रीमान्-श्रीमतिको मृत्यु

कैलाली, २६ पुस । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतिको ज्यान गएको छ । बुधबार साँझ जिल्लाको मोहन्याल गाउँपालिकाअन्तर्गत कुइने-चिसापानी सडकखण्डबाट भे १३ प १०७४ नम्बरको मोटरसाइकल कर्णाली नदीमा खस्दा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परी अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु अछामबाट बर्दियातर्फ आउँदै थिए ।
सडकबाट करिब दुई सय मिटर तल नदीमा खसेको मोटरसाइकल तथा उनीहरुको शवलाई मोटरबोटको सहायताले बाहिर निकालिएको थियो । मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

