‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

प्रहरीले पिछा गरेको थाहा पाएपछि भाग्‍ने तयारी अवस्थामा

काठमाडौं, २५ पुस । तपस्वी रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको छ।

पछिल्लो १८ दिनदेखि निरन्तर फलो गरेर सीआईबीको टोलीले उनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न सफल भएको हो ।  सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बमजन पक्राउ परेको पुष्टि गरेका छन् ।

बमजनलाई पक्राउ गर्न डीएसपीको कमान्डमा टोली परिचालन गरिएको थियो भने भाग्‍न सक्‍ने सम्भावना समेत रहेकाले थप केही टोली परिचालन गरिएको थियो । प्रहरीले पछ्याइरहेको शंका पाएपछि बमजन पनि हात्तीगौँडास्थित घरबाट भाग्न तयारी अवस्थामा थिए।

प्रहरीले पिछा गरेको सूचना पाएपछि बम्जन विगत ८ दिनदेखि घरमै बसिरहेका थिए । उनी जुनसुकै बेला भाग्‍नका लागि तयार अवस्थामा थिए । उनी भाग्न सक्‍ने भन्दै प्रहरीले घरबाहिर पनि टोली परिचालन गरेको थियो ।

मंगलबार साँझ प्रहरीको टोली उनको घरभित्रै छिरेको थियो । प्रहरी छिरेको सुइँको पाएपछि उनी तीन तले घरको छतबाट हामफालेर भाग्ने तयारीमा थिए तर यसपटक भने उनले प्रहरीलाई छल्न सकेनन् ।

सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र अर्का एक अनुयायीलाई बेपत्ता पारेको आरोप छ। त्यस्तै जबरजस्ती करणीको पनि उनीमाथि आरोप छ ।

उनले करिब १८ वर्षअघि बाराको रतनपुरी जंगलमा ‘तपस्या’ गर्न थालेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय