राष्ट्रिय सभामा एमालेले १९ ठाउँमै उम्मेदवारी दिने

काठमाडौं,२१पुस। नेकपा एमालेले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ ।
सत्ता गठबन्धनसंग मिलेर महागठबन्धन बनाउदै भागबन्डा खोजिरहेको भन्ने कुरा बाहिर आइरहेका बेला एमालेले शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि यस्तो निर्णय गरेको हो।
बैठकले गरेको निर्णय सार्वजनिक गर्दै एमाले महासचिव शंकर पोखरेलले सो कुरा बताएका हुन् । महासचिव पोखरेलका अनुसार बैठकले पार्टी केन्द्रिय कमिटीमा ६ जनालाई नियुक्ति गरेको पनि जानकारी दिए। जसमा प्रदेश अध्यक्ष गुमाएका ५ जना प्रदेश अध्यक्ष र झापा जिल्ला अध्यक्ष रहेका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय बारे पनि महासचिव पोखरेलले भने,-‘प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागेको थियो । सिफारिस भएका नामको बारेमा प्रारम्भिक छलफल भयो। अब क्लस्टरमा पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गरेर २३ गते १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेका छौं।’

