इटहरी उपमहानगरमा सेवाग्राही लक्षित `नागरिक सहायता कक्ष´
तारा पोख्रेल
सुनसरी,१८पुस।इटहरी उपमहानगरपालिका कार्यालयमा आउने सेवाग्राहीलाई लक्षित गर्दै ‘नागरिक सहायता कक्ष’ र शुद्ध पिउने पानीको धारा निर्माण गरिएको छ।
उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उपमहानगरको कार्यलय परिसरलाई सफा,स्वच्छ, व्यवस्थित र सेवाग्राही मैत्री बनाउने अभियान नै सुरु गरेका छन् ।
अहिले उपमहानगर कार्यालय प्रवेश गर्ने सेवाग्राहीले वातावरण स्वच्छ र सफा देख्नुको साथै शुद्ध पिउने पानी,चिया र कफिको समेत सुविधा लिन सक्नेछन् । यो संगै सेवाग्राहीलाई मिल्ने र हुनेसम्मको काम छिटो छरितो गरिदिन पनि मेयर पौडेलले सबै कर्मचारीलाई अनुरोध गरेका छन् ।
उपमहानगर भित्र पस्ने बित्तिकै मुख्य गेटैमा पानी जमेर सेवाग्राहिलाई हिड्न समेत कठिन हुने उपमहानगर अहिले हेर्दैमा सफा र शुन्दर देखिन थालेको छ।

नगर प्रमुख पौडेल निर्वाचित भएर आउने बितिकै कार्यालय परिसरलाई पानी नजम्ने र अगाडिको भागलाइ पनि ब्लक लगाइ सफा बनाइएको थियो । त्यसपछि उपमहानगरमा आउने सेवाग्राहीलाई लक्षित गरि नागरिक सहायता कक्ष ब्यबस्था गरिएको हो। नागरिक सहायता कक्षमा सेवाग्राहीलाई काम नहुन्जेल बसेर आराम गर्ने , चिया कफि र तातो पानीको पनि ब्यबस्था गरिएको छ।
यसलाई अझै आगामी दिनमा सुधार गर्दै सेवाग्राहीले खोजेको सेवा नागरिक सहायता कक्षबाट नै कर्मचारीको सहायताले सेवाग्राही बसेकै स्थानमा ल्याइदिने ब्यबस्था गर्ने उदेश्य राखिएको मेयर पौडेलले बताए।’यसलाई कतिसम्म व्यवहारमा ल्याउन सकिन्छ भनेर सोच्दैछौं’-मेयर पौडेल भन्छन्,-‘हामीले दिन खोजेको भनेको के हो भने सेवाग्राहीको सन्तुष्टि र सुशासन पनि हो।’

उपमहानगर भित्रका कुनैपनि नागरिकको सेवामा यस कार्यालयबाट कुनै अफ्ट्यारो नहोस र कमि पनि नहोस भन्ने उपमहानगरको उदेश्य रहेको पनि पौडेलले जानकारी दिए।उपमहानगरमा सेवाग्राहीलाई सेवालिन आउदा कहाँबाट शुरु गरेर कहाँ पुग्दा सकिने हो भन्ने समेत थाहा नहुदा सोझा सेवाग्राहीले दु:ख पाउन सक्ने सम्भावना भएकोले त्यसैलाई मध्यनजर गर्दै नागरिक सहायता कक्षको ब्यबस्था गरिएको उनले बताए ।

