सन्दीपलाई सहुलियत: जेल बाहिरबाटै पुनरावेदन गर्न सक्ने !

काठमाडौं,१४पुस। बालिका बलात्कार मुद्दामा शुक्रबार मात्रै जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रीकेटर सन्दीप लामिछानेले फैसला बारे पुनरावेदन गर्न चाहेमा जेल बाहिरै रहेर गर्न सक्ने देखिएको छ।
काठमाडौ जिल्ला अदालतका न्यायधीश शिशिरराज ढकालले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा सुनाएको फैसलामा एकातिर ‘बलात्कारी’ भनेर दोषी देखाइएको छ भने जाहेरीकर्ताको उमेर बालिग रहेको समेत देखाइएको छ।
यसअघि जाहेरीकर्ता ‘गौशाला २६’लाई नाबालिग हो वा बालिग भन्नेमा पनि अष्पष्ट थियो। जाहेरीकर्ता ‘गौशाला २६’ निकट कानुन व्यवसायीले उनलाइ नाबालिग रहेको प्रमाणहरु दिएको भएपनी उनको डकुमेन्टले त्यो पुष्टि हुन सकेन।उनको जन्म मिति २०६१ असार कि २०६२ असार भन्नेमा फरक-फरक डकुमेन्ट अदालतमा प्रस्तुत भएका थिए।
कानूनतः यदि जाहेरीकर्ता नाबालिग भएमा सहमतिमा राखेको शारीरिक सम्बन्ध पनि बलात्कार ठहरिन्छ । तर, यदि जाहेरीकर्ताको उमेर १८ वर्ष नाघेको भए निजको मञ्जुरीबिना सम्बन्ध राखेमा मात्रै बलात्कार मानिन्छ । अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १, २ र ३(ङ) अनुसार सन्दीपलाई दोषी ठहर्याएको हो ।
२१९ (१) मा भनिएको छ- कसैले पनि जबरजस्ति करणी गर्नु हुँदैन
२१९ (२) मा लेखिएको छ- कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ति करणी गरेको मानिनेछ ।
२१९ (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म सजाय हुने उल्लेख छ ।
यसअनुसार सन्दीपलाई कम्तिमा ७ वर्ष र बढीमा १० वर्ष जेल सजाय हुनसक्ने राय बाहिर आएको छ। यद्यपि सजाय र जरिवाना बारे २५ पुसमा मात्रै निर्णय आउने भनिएको छ। अर्कोतिर फैसलाको पुर्ण पाठ पनि आउन बाकी छ। पुर्ण पाठ नआएसम्म प्रहरीले पक्राउ गर्ने छैन।
उता केही कानुन व्यवसायीले सन्दीपले पुनरावेदन गर्न चाहेमा जेल बाहिर नै बसेर गर्न सक्ने तर्क गरेका छन् ।यद्यपि हिजोको फैसला पछि सन्दीपको धारणा भने बाहिर आएको छैन।

