नेपाल सुपर लिगको फाइनल आज, धनगढी र ललितपुर उपाधिका लागि खेल्दै

काठमाडौं, १४ पुस । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि साविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी खेल्दै छन् ।

खेल आज साँझ ५ः३० बजे दशरथ रङ्गशालामा सुरु हुने छ । धनगढीले पहिलो क्‍वालिफायरमा पोखरा थन्डर्सलाई हराएर सिधै फाइनलमा स्थान बनाएको थियो भने ललितपुरले इलिमिनेटरमा काठमाडौं रेजर्स तथा दोस्रो क्‍वालिफायरमा पोखरालाई स्तब्ध पार्दै फाइनलमा पुगेको थियो ।

लिग चरणमा पोखरा ४ जीत र तीन बराबरी सहित १४ अंक जोडेर शीर्षस्थानमा तथा धनगढी ३ जीत र ४ बराबरी सहित १३ अंक जोडेर दोस्रो स्थानमा रहेका थिए भने काठमाडौं ३ जीत र ३ बराबरी सहित तेस्रो तथा ललितपुर २ जीत र चार बराबरी सहित चौथो स्थानमा थिए । क्‍वालिफायरमा धनगढीसँग पराजित भएपनि पोखराले पाएको अर्को मौकामा ललितपुरलाई हराउन सकेन । साविक विजेता काठमाडौं ललितपुरसँग पराजित हुँदै इलिमिनेटरबाटै बाहिरियो ।

पहिलो सिजनको फाइनलमा काठमाडौंसँग १-० को हार व्यहोर्दै धनगढी उपाधिबाट वञ्‍चित भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय