एनएसएल फुटबलः फाइनल प्रवेशका लागि पोखरा र ललितपुर खेल्दै

काठमाडौं, १२ पुस । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलमा आज दोस्रो क्वालिफायर खेल हुँदै छ । फाइनल प्रवेशका लागि पोखरा थन्डर्स एफसी र ललितपुर सिटी एफसी खेल्ने छन् ।
आज साँझ ५ः३० बजे दशरथ रङ्गशालामा हुने यस खेलले शनिबार धनगढीसँग उपाधि भिडन्तका लागि प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लाग्ने छ । धनगढी यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।
धनगढी एफसीले क्वालिफायर १ मा पोखरा थन्डर्सलाई हराउँदै सोझै फाइनलमा स्थान बनाएको थियो । ललितपुरले इलिमिनेटरमा काठमाडौं रेजर्सलाई हराएर निर्णायक क्वालिफायरमा पोखरासँगको भिडन्त पक्का गरेको थियो ।
लिग चरणमा पोखरा शीर्षस्थानमा तथा धनगढी दोस्रो स्थानमा रहेकाले दुईबीचको पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्दा पराजित हुने टोलीले अझै एक मौका पाउने व्यवस्था अनुसार पोखराले अब ललितपुरलाई हराएर फाइनल खेल्ने अर्को अवसर छ ।

