डिफेन्डिङ च्याम्पियन काठमाडौंको यात्रा इलिमिनेटरबाट टुङ्गियो

काठमाडौं, १० पुस । डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स एफसी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलबाट बाहिरिएको छ । मङ्गलबार भएको इलिमिनेटर खेलमा ललितपुर सिटी एफसीसँग ३-० को हार व्यहोरेपछि काठमाडौंको यात्रा टुङ्गिएको हो ।
ललितपुरको जीतमा इमो इजेकलले २ गोल गर्दा पापा इबो केबेले १ गोल गरे । पहिलो हाफमा २-० को अग्रता बनाएको ललितपुरले दोस्रो हाफमा १ गोल थपेको थियो । दोस्रो हाफको ७४ मिनेटपछि काठमाडौं १० खेलाडिमा पनि सीमित भएको थियो ।
खेलको ३६औं मिनेटमा पापा इबोको प्रहार काठमाडौंका गोलकिपर अन्जल महर्जनले पूर्ण रुपमा क्लियर गर्न नसक्दा रिबाउण्डमा इमोले गोल गरेका थिए । ४४औं मिनेटमा पनि रिबाउन्डमा नै प्राप्त बललाई यसपटक भने पापा इबोले गोल गर्दै पहिलो हाफमा टोलीलाई २-० ले अगाडि राखे ।
दोस्रो हाफको ५४औं मिनेटमा इमोले दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अगाडि ल्याए । ७४औं मिनेटमा काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि थप गोल भएनन् र ललितपुर विजयी हुँदै दोस्रो क्वालिफयरमा पुगेको छ । ललितपुरले अब फाइनल प्रवेशका लागि पोखरा थन्डर्ससँग खेल्ने छ ।

