अभियोगबाट सफाइ पाएपछि सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौं, ८ पुस । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ। सभामुख देवराज घिमिरेले महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरीको निलम्बन आइतबार फुकुवा गरेका हुन्।
संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै कोइरीको निलम्बन फुकुवा भएको जनाएको छ । निलम्बन फुकुवा भएपछि अब कोइरी संसद्मा उपस्थित हुन पाउनेछन् । यसका साथै अब उनले संसदीय समितिहरूका बैठकमा पनि भाग लिने बाटो खुलेको छ।
सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि कोइरीलाई संसद् सचिवालयले २०८० वैशाख १९ गतेदेखि निलम्बन गरेको थियो। तर उक्त प्रकरणमा महोत्तरी जिल्ला अदालतले सफाइ दिएसँगै कोइरीले निलम्बन फुकुवाका लागि कोइरीले संसद् सचिवालयमा निवेदन दिएका थिए।
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले मंसिर २८ गते सफाइ दिने निर्णय सुनाएको थियो। कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका थिए।

