पूर्वराजाको अभिनन्दन कार्यक्रमका संयोजक बनेका बस्याल एमालेबाट निष्कासित

रुपन्देही, ८ पुस । पूर्वराजा ज्ञानेन्द्रको भैरहवा भ्रमण हुने बेलाको अभिनन्दन कार्यक्रमका संयोजक बनेका नेकपा एमालेका नेता डा. रामप्रसाद बस्याललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोहको संयोजक बनेका बस्याललाई एमालेले निष्कासन गरेको हो । एमाले जिल्ला कमिटी रुपन्देहीले शनिवार एक विज्ञप्ति जारी गर्दै एमाले नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र यसका मूलभूत मान्यताप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको भन्दै त्यस विपरीत हिँडेकाले बस्याललाई पार्टीबाट निष्कासन गरिएको जनाएको छ ।
एमालेमा बसेर नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा आफूलाई उभ्याएर पार्टीको नीति विरुद्ध लाग्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने र यस प्रकारको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै विज्ञप्तिमा बस्याललाई आजकै मितिदेखि लागू हुने गरी निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बस्याल स्थानीय तहको निर्वाचनमा भैरहवामा रहेको सिद्धार्थ नगरपालिकामा पार्टीको तर्फबाट मेयर उम्मेदवार बनेर पराजित भएका थिए ।

