नेपाली कांग्रेस बागमती प्रदेश सम्मेलनको तयारी पुरा
सभापति देउवाले उद्घाटन गर्ने,डा.शेखर कोइरालालाई निम्तो छैन
काठमाडौ,६पुस।नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम सम्मेलन शनिबार काठमाडौ सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा हुने भएको छ।
पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनमा अर्का धारका नेता डा.शेखर कोइरालालाई भने निम्तो गरिएको छैन। अन्य केही प्रदेश सम्मेलनमा संस्थापन पक्ष र कोइराला पक्षका बिचमा आशनग्रहणको मर्यादाक्रममा विवाद बढेपछि यहाँ भने कोइरालालाई निम्तो नै नपठाएको स्रोतको भनाइ छ।
सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट ७ सय ८२ जना प्रदेश सम्मेलन प्रतिनिधिको सहभागीता रहनेछ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार समिति संयोजक तिलक प्रसाद रुवालीले सम्मेलनमा राजनैतिक,सांगठनिक र आर्थिक प्रतिवेदनहरु प्रस्तुत भै छलफलपछि पारित गरिने जानकारी दिए।
सम्मेलनमा प्रदेश भित्रका नेपाली कांग्रेसबाट निर्वाचित संघिय सांसद,प्रदेश सांसद,प्रदेश सभा सदस्य,प्रदेश भित्रका क्षेत्रीय सभापति,महानगर,उपमहानगर,नगर र गाउँ पालिका प्रमुख उपप्रमुख र ११९ पालिका सभापतिलाई निमन्त्रणा गरिएको प्रचारप्रसार संयोजक रुवालीले जानकारी दिए।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टी बिधान अनुसार नै नेताहरूको आशनग्रहण हुने भन्दै कसैलाई पनि दायाँबायाँ गर्ने मनसाय नराखी बिधानसम्मत सम्मेलन सम्पन्न गर्न लागिएको बताए। पार्टी भित्रको मर्यादाक्रम विवाद बारे पत्रकारको जिज्ञासामा उनले भने-‘त्यस्तो कुनै मर्यादा वा मानमर्दन भन्ने पार्टीमा हुँदैन। बिधान अनुसार नै सबै ब्यबस्थापन गरिएको र प्रमुख अतिथि र बक्ता राखिएको छ यसमा कसैले अन्यथा सोच्न आवस्यक छैन।’
सभापति बानियाँले गणतन्त्रलाई ब्यबस्थित गर्दै संसदिय प्रतिष्पर्धा गर्ने अवस्थामा देशको राजनीतिलाई पुर्याउनुपर्ने बताउँदै नेपाली कांग्रेस बागमती प्रदेश सम्मेलनले बिधानलाई समेत परिमार्जनको आवश्यकता औंल्याउन सक्ने जानकारी दिए।खेलकुद क्षेत्रमा उमेर समुह अन्तर्गतको सहभागीता भए जस्तै नियम राजनीतिमा लगाउन आवश्यक भएको पनि सभापति बानियाँले बताए। उनले पार्टीमा एउटै ब्यक्ति पटक-पटक सोही पदमा रहने भन्दा पनि नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिए।

उनले देशकै निर्वाचन प्रणालीमा समेत सुधारको आवश्यकता रहेको भन्दै पार्टीको बिधानलाई पनि समय सापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिए।’युवाले कांग्रेसमा आफ्नो राजनीतिक भविस्य देख्नेगरी बिधान शंशोधन गर्ने कुरा प्रदेश सम्मेलनमा उठाइनेछ’,-उनले भने।
प्रचारप्रसार संयोजक एवं प्रदेश प्रबक्ता तिलकप्रसाद रुवालीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका सदस्य सचीव राजेश्वर ढकालले कार्यक्रम संचालन गरेका थिए।
सम्मेलन सफल बनाउन प्रदेश प्रवक्ता रुवाली संयोजक र नर्वदा पोख्रेल सह-संयोजक रहेको प्रचारप्रसार समिति यसअघि नै गठन गरिएको थियो। जसमा इन्द्रमान श्रेष्ठ,नानु दाहाल,रामेश्वर ढकाल,अर्जुन धरेल,सुजन बिडारी,डा.मुरारी अधिकारी,हिरा खनाल,मनदेवी श्रेष्ठ र विद्या बराल सदस्य छन् ।

