एनएसएल: काठमाडौंसँग धनगढी बराबरीमा रोकियो

काठमाडौं, २ पुस । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलमा धनगढी एफसी र काठमाडौं रेजर्स एफसीले बराबरी खेलेका छन् । सोमबार साँझ भएको खेलमा काठमाडौं र धनगढीले १-१ गोलको बराबरी खेलेका हुन् ।

धनगढीका लागि अहमद हिजाजी तथा काठमाडौंका ओलिभर किङ्गेले गोल गरे । पहिलो हाफमा १-० को अग्रता बनाएको धनगढीले दोस्रो हाफमा गोल व्यहोर्दा पुनः गोल भने फर्काउन सकेन ।

खेलको १५औं मिनेटमा धनगढीले खेलमा अग्रता लिएको थियो । काठमाडौंका आन्द्रेस नियाले किपरलाई ब्याकपास दिने क्रममा हिजाजी बलमा पुगेर गोलकिपर एन्जल श्रेष्ठलाई चिप गर्दै बललाई जाली चुमाएका थिए ।

दोस्रो हाफको ६६औं मिनेटमा काठमाडौंले बराबरी गोल गर्यो । तोजी दिनोभको क्रसमा ओलिभर किङ्गेले फस्ट बारमा गरेको हेडर गोल भएको थियो । किपर टिकेन्द्र थापाले बचाउ गर्नै पाएनन् ।

यस बराबरीसँगै ६ खेलमा १२ अंक जोडेको धनगढी अंकतालिकाको शीर्ष स्थानमा यथावत् छ । काठमाडौं ६ खेलमा ९ अंक जोड्दै चौथो स्थानमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय