टिकटक प्रतिबन्धबारे सर्वोच्चले तत्काल सुनुवाइ नगर्ने

अब २०८१ बैशाख २७ मा सुनुवाइ हुने

काठमाडौं,२पुस। धेरैको प्रतीक्षामा रहेको सामाजिक संजाल टिकटक बारे अदालतले तत्काल फैसला नदिने देखिएको छ।

नेपालमा सर्वाधिक लोकप्रिय मानिएको सामाजिक सञ्जाल टिकटक माथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि सर्वोच्च अदालतले तत्काल कुनै फैसला नदिने भएको हो। अब कम्तीमा ५ महिना पछि मात्रै सुनुवाइ हुने बुझिएको छ ।

केही दिनअघिको संयुक्त इजलासले टिकटक प्रतिबन्ध खारेजीको माग गर्दै दायर भएका रिटहरूमाथिको सुनुवाइ पाँच महिनापछि धकेलिदिएको हो ।सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै २७ कात्तिकमा मन्त्रीपरिषद्‌ बैठकले टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो ।

त्यस लगत्तै सरकारको उक्त निर्णयले वाक् तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकार हनन् गरेको भन्दै सर्वोच्चमा छुट्टाछुट्टै १४ ओटा रिट दायर भएका थिए ।ती १४ ओटै रिटलाई लगाब मुद्दाको रूपमा एकै स्थानमा समेटेको सर्वोच्च अदालतले गत ५ मंसिरका लागि पेशी तारेख तोकेको थियो । उक्त मितिमा न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी नहुने ठहर गर्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

त्यसपछि १९ मंसिर र २७ मंसिर गरी दुई पटक पेशी तारेख तोकिएको भए पनि सुनुवाइ नै नगरी “हेर्न नभ्याइने” मा राखिएको थियो । अबको पेशी तारेख भने २७ वैशाख २०८१ का लागि तोकिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय