कांग्रेस प्रदेश सम्मेलनको तयारी तिव्र, रुवालीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

काठमाडौं, ३ पुस । नेपाली कांग्रेस बागमती प्रदेश समितिको आगामी पुस ७ गते हुने पहिलो प्रदेश सम्मेलनको तयारी तिव्र पारिएको छ।तयारी स्वरुप विभिन्न समितिहरु क्रियाशिल भैसकेका छन् ।
यसै सन्दर्भमा प्रदेश सम्मेलनको तयारीदेखि सम्पन्न नहुदा सम्म हरेक गतिविधि र कामहरूको प्रचारप्रसार गर्न प्रदेश प्रबक्ता तिलक प्रसाद रुवालीको संयोजकत्वमा ११ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ।
प्रदेश कार्यसमिति प्रवक्ता तिलक प्रसाद रुवाली संयोजक र नर्वदा पोख्रेल सह-संयोजक रहेको प्रचारप्रसार समितिमा इन्द्रमान श्रेष्ठ, नानु दाहाल, रामेश्वर ढकाल, अर्जुन धरेल, सुजन बिडारी, डा.मुरारी अधिकारी, हिरा खनाल, मनदेवी श्रेष्ठ र विद्या बराल सदस्य छन् । जसमा रामेश्वर ढकाललाई प्रचारप्रसार समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

पुर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व हुने प्रचारप्रसार समिति संयोजक रुवालीले जानकारी दिए।काठमाडौ सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा हुने सम्मेलन उद्घाटनमा पार्टी सभापति सहित नेता डा.शेखर कोइराला र पार्टी पदाधिकारी एवं केन्द्रिय सदस्य र विभागीय प्रमुखहरुलाई निम्तो गरिसकिएको प्रचारप्रसार समितिले जनाएको छ।
सोही दिन कार्यक्रम स्थलमै रक्तदान कार्यक्रम समेत हुनेछ।रगतको अभावलाई पूरा गर्न र राजनीतिक दलले पार्टी गतिविधि मात्रै होइन सामाजिक सेवाका काममा पनि ध्यान दिनुपर्छ भनेर बिहानैदेखी रक्तदान कार्यक्रम राखिएको प्रचारप्रसार समितिले जनाएको छ। रक्तदान कार्यक्रम सम्पन्न गर्नका लागि प्रदेस सदस्य कुमार दुलालको संयोजकत्वमा छुट्टै समिति बनाइएको छ।
यसअघि प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा काठमाडौमा बसेको कार्यसमितिको आठौं पूर्ण बैठकले पुस ७ गते हुने पहिलो प्रदेश सम्मेलनलाई भव्य र ब्यवस्थित एवं मर्यादित बनाउन आवश्यक तयारी र सम्पन्न भएकोे कार्यबारे समिक्षा गरेको थियो ।
सोही बैठकले सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पास गर्नुका साथै कार्यसम्पादन समितिले हालसम्म गरेका निर्णयहरु अनुमोदन गरिएको प्रदेश प्रवक्ता एवं सम्मेलनका प्रचारप्रसार संयोजक रुवालीले परेवान्युजलाई जानकारी दिए ।
सम्मेलनमा सातै प्रदेशका प्रदेश सभापतिहरुको समेत समुपस्थिति रहने र सम्मेलन पछि बागमती प्रदेशले भावी कार्ययोजना सहित पार्टी कामलाई अझै प्रभावकारी र जनताको घर आँगनमा नै पुगेर पार्टी कामको प्रचार गर्ने रुवालीको भनाइ छ।


