गोलरहित बराबरीसँगै चितवन र इलामको प्लेअफ सम्भावना लगभग समाप्त

काठमाडौं, ३० मंसिर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलमा एफसी चितवन र स्पोर्टिङ इलाम एफसीले गोलरहित बराबरी खेलेका छन् ।
शनिबारको दोस्रो खेलमा दुवै टोलीलाई प्लेअफ सम्भावना कायमै राख्न जीतको आवश्यकता थियो । यद्यपि दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन ।
यस बराबरीसँगै चितवन ७ खेलमा ६ अंक जोड्दै छैटौं स्थानमा रहँदा इलाम भने समान ७ खेलमा ५ अंकसहित पुछारमा छ ।
दुवै टोलीले अब १ खेल मात्र खेल्न बाँकी छ । अरुको नतिजामा भर पर्दै चमत्कारको अपेक्षा दुवै टोलीले गर्नुपर्ने छ ।

