डोजरले निम्त्याएको ‘डिजास्टर’

कालीबहादुर थापा/हुम्ला

पछिल्लो समय सडक नपुगेको गाउँ अनि बस्ती पनि बिरलै भेटीएलान् । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र कहिलेकाही समान ओसारपसार गर्ने गरिरहन्छन् ।

गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । वातावरणिय प्रभाब मुल्याङ्कन नगरी आ-आफ्नो प्रचारका निम्ती आँखाले हेरेर र डोजर चालक तथा सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिना इञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पुर्णरुपमा ठप्प हुन्छ । त्यतीबेला सडक ठप्पमात्र नभई बजारमा सामाग्रीकोे अभावले बजारभाउ गरिबको ढाड सेक्नेगरी बृद्धि हुँन्छ ।

यस किसिमका सडक निर्माणले गाउँ, बस्ती मात्र नभई पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडी दिएको छ । हुम्ला लगायत दुर्गमका थुप्रै गाउँ बस्तीहरु पहिरोको उच्च जोखिममा छन् । बर्खा लाग्ना साथ उनीहरु घर छोडेर टाढा खर्कपातमा जानुपर्ने अवस्था छ ।

गाउँ गाउँमा बनाइएका ग्रामीण सडकले बस्ती त जोखिममा पा‍र्यो नै त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा, पाखा र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर हिजो आज ती सम्पदा देख्न पाइन्छ की पाइँदैन ?

विकासका नाममा भएको ‘डोजरे विकास’ले महत्वपुर्ण इतिहास बोकेका सम्पदा नष्ट गरिदिएको छ । हामी पहिले भरियाको काम गर्ने समयमा बोकीने भारी बिसाउने ठाउँ छैन,भरिया, स्थानीयवासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्वनै समाप्त भएको देखिन्छ ।

बि.सं २०६७।०६८ साल तिर साविकको कर्णाली अञ्चलको हुम्ला पुग्न कर्णाली चिसापानीबाट निरन्तर ७ दिन हिड्नु पर्ने हुँन्थ्यो। त्यहाँ बाटोघाटोमा कलात्मक चौताराहरु थिए।पाटी पौवाहरु थिए ।अहिले तिनिहरु सबै हटेर गएको देखीन्छ ।सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोटाई दियो साथै मौलिक सम्पदाको पहिचान पनि मेटाइ दियो ।

त्यति मात्र होईन हुम्लाको सदरमुकाम सिमकोट जाँदा वा बाजुराको सदरमुकाम मार्तडी जाँदा पनि बाटोका दर्जनौँ स्थानमा बर पिपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला भेटिन्थे सडक निर्माणका क्रममा ती सबै पुरिएछन् ।अहिले केही मात्रमा देखीए पनि पहिले जस्तो देखीदैन ।

गाउँ-गाउँबाट एकै दिनमा सदरमुकाम जान आउन नसकिने र अहिलेको जस्तो ठाउँ-ठाउँमा बास बस्ने होटल नहुँदा आफूहरु धर्मशालामा बास बस्ने गरेको हुम्ला अदानचुली १ का ६६ वर्षिय धनमल थापाको भनाइ छ । पहिले हप्ता दिन हिँडेर चिसापनी बजार जाने र त्यहाँबाट ठेटुवा लगायतका लत्ता कपडा ल्याउने जनाउँदै अहिले कच्ची सडक भएकाले एक दिन लाग्ने गरे पनि पछि पक्की सडक भए थोरै घण्टामै आउन सकिने भएको उनको भनाइ छ ।

गाउँमा कुनै पनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाममै जानु परेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेकोमा अत्यन्तै खुसी भएको उनको भनाइ छ । गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्न तर्फ कसैको ध्यान नगएको प्रति भने उनको गुनासो छ ।

मौलिक सम्पदा हाम्रो पहिचान हो। तर,पछिल्लो समय त्यो पहिचान सङ्कटमा पर्दै गएको छ । गाउँ गाउँमा सडक आए पनि नागरीकले चाहेको बेला चढ्न नपाउनाले सुबिधा नभएको अर्का बृद्ध प्रदिप महताराको भनाइ छ।‘गाउँमा सडक आयो धेरै राम्रो भयो, हामीहरुले धेरै दुःख पाएका थियौँ, यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ, तर हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन’,-उनले भने-‘हाम्रा पालामा बर पिपल रोप्ने, चौपारी बनाउने, धर्मशाला, पाटी पौवा बनाउने चलन थियो, त्यो चलन अहिले छैन।’

गाउँका हरेक पाका पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँमा त्यो सोँच नै नभएको उनको भनाइ छ ।बाटोघाटोमा पुराना कलात्मक र ऐतीहासीक ढुंगाहरु बनाउने प्रचलन थियो र राखिएका पनि थिए तर अहिले सडक काट्दा खेरी तिनिहरुलाइ संरक्षण गर्नुको सट्टा फुटाएर अन्य काममा प्रयोग गरिएको पाइएको छ ।

उनी भन्छन्, ‘अहिलेका पुस्तालाई विकास चाहिएको छ, घर घरमा सडक चाहियो, धारा चाहियो, सबैथोक चाहियो, तर सार्वजनिक ठाउँमा भएको सबै विनाश गर्ने परिपाटी भयो, बर पिपल लगाउनु त राम्रो कुरा हो नि, पाटी पौवा पनि राम्रो हो, मान्छे स्वार्थी बने, धर्मकर्म मान्न छोडे, विकासका नाममा सबै विनाश गर्न थाले, हामीहरुले बटुवाका लागि पानी खान कुवा संरक्षण गर्‍यौँ, ढुङ्गे धारो बनायौँ, अहिले त सबै भत्काई दिए ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय