विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ
काठमाडौ,२२मंसिर ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
बिहिवार राति गोरखाका चन्द्र घले पक्राउ परेका हुन् । उनी फ्लाइ दुबईको फ्लाइटबाट त्रिभुवन विमानस्थल उत्रेका थिए। त्यस लगत्तै घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेको थियो ।
स्थायी ठेगाना गोरखा भनिए पनि विमानस्थल भन्सार विभागले उनको पूरा परिचय खुलाएको छैन। सुनको प्लेट बनाएर घलेले आफ्नै शरिरमा बाधेर सुन ल्याएको र सुराकीको आधारमा उनी पक्राउ परेका हुन।
घेलेले ल्याएको सुन शुक्रबार जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने विमानस्थल स्रोतले बतायो। यो उनी एक्लैले बनाएको योजना हो वा अरुको पनि संलग्नता छ भन्ने बिषयमा घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि पनि निगरानी भइरहेको छ । स्रोतका अनुसार यसमा अन्य केही व्यक्ति पनि संलग्न हुनसक्ने आशंका देखिन्छ ।
सुन सहित पक्राउ परेका घले बुधबार नै फ्लाइ दुबईको फ्लाइटबाट नेपाल आउन लागेको जानकारी पहिल्यै थाहा थियो । त्यसैले बुधबारबाटै एयरपोर्टमा निगरानी भइरहेको र बुधबार नआएका घले बिहीबारको फ्लाइटमा आएपछि पक्राउ परेका हुन् ।

