पशुपतिनाथ मन्दिर आसपास एक साताका लागि मासु तथा मदिरा बिक्री र सेवनमा राेक

काठमाडौं, २१ मंसिर । आउँदै गरेको बाला चतुदर्शी पर्वलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागु हुने जनाएको छ ।
बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा यही मङ्सिर २१ देखि २७ गतेसम्म यो नियम लागु हुने प्रकाशनले जनाएको छ । यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतबाट जारी सूचनामा उल्लेख छ।


