इलामलाई हराउँदै पोखरा शीर्षस्थानमा उक्लियो

काठमाडौं, २० मंसिर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले दोस्रो जित हासिल गरेको छ । बुधबार साँझ भएको खेलमा पोखराले स्पोर्टिङ्ग इलाम एफसीलाई १-० गोलअन्तरले हराउँदै अपराजित यात्रा पनि कायमै राखेको छ ।
पोखराको जितमा सञ्जीव विष्टले दोस्रो हाफको सुरुवाती समयमा गरेको गोल नै निर्णायक बन्यो । सञ्जिवले ४७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । आयुष घलानको कर्नरबाट आएको बल इलामका खेलाडीले क्लियर गर्न नसकेपछि सञ्जिवले नजिकैबाट बललाई जाली चुमाए ।
खेलमा इलामले गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो । पहिलो हाफमा धेरैजसो समयमा दबदबा कायमै राखेको इलामले गोल भने गर्न सकेको थिएन । ३०औं मिनेटमा फोडे कमाराले बक्स भित्रबाट गरेको प्रहार पोखराका किपर प्रिसोलाई लाग्दै सेकेण्ड बार नजिकबाट बाहिरियो ।
दोस्रो हाफमा भने पोखराले निकै सुधारिएको प्रदर्शन गर्दै निरन्तर आक्रमण बुनिरहेको थियो । यद्यपि ६७औं मिनेटमा दाँयाबाट अमाथ एन्डले दिएको लामो पासमा विमल पाण्डेले हेडिङ गरेको भएपनि पोस्टको दिशा लिन सकेन । यो इलामलाई बराबरी गर्ने सुन्दर अवसर रहेको थियो ।
यस जितसँगै पोखरा ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ भने पराजित इलाम ४ खेलमा ३ अंक मात्र जोड्दै छैटौं स्थानमा छ ।

