एनएसएलमा काठमाडौं र झापाको गोलरहित बराबरी

काठमाडौं, १८ मंसिर । काठमाडौंमा जारी दोस्रो संसकरणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स एफसी र झापा एफसीले बराबरी खेलेका छन् । सोमबार साँझ भएको खेलमा काठमाडौं र झापाले गोलरहित बराबरी खेलेका हुन् ।

खेल अवधिभर दुवै टोलीले गोल गर्ने थुप्रै अवसर गुमाएका थिए । पहिलो हाफको १४औं मिनेटमा काठमाडौंका कप्तान कुलदिप कार्कीले उपलब्ध गराएको लामो पासमा हिसुब थपलियाले गरेको प्रहार झापाका गोलकिपर स्टेफन क्युपिकले बचाएका थिए । ३५औं मिनेटमा झापाका समिराज थोकरको प्रहार काठमाडौंका गोलकिपर अभिषेक बराले बचाए ।

दोस्रो हाफको ६६औं मिनेटमा राजिव लोप्चनले बायाँ भागबाट दिएको पासमा शोखरुखको प्रहार फितलो रहँदा काठमाडौं गोलको मौकामा चुक्यो । ८६औं मिनेटमा शोखरुखले वान भर्सेस वानमा गरेको प्रहार क्युपिकले उत्कृष्ट बचाउ गर्दा काठमाडौं अग्रता लिनबाट चुकेको थियो ।

यस बराबरीसँगै काठमाडौं ३ खेलमा ५ अंक जोडेर चौथो स्थानमा  छ भने झापा ३ खेलमा २ अंक जोडेर आठौं स्थानमा यथावत् छ । यो यस सिजनको एनएसएलको तेस्रो गोलरहित बराबरी हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय