पोखराको मित्रमिलन सहकारीको रकम हिनामिनामा संलग्नलाई पक्राउ पूर्जी जारी

पोखरा, १७ मंसिर । पोखराको नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था को रकम हिनामिना र ठगीमा संलग्न भएको आरोपमा विभिन्न व्यक्तिहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला अदालत कास्कीले सहकारीका सञ्चालक, केही पत्रकार, वकिल र जनप्रतिनिधि गरी ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ पुर्जी लिएसँगैं ठगीमा संलग्नहरुको खोजी कार्य सुरु गरेको छ ।
पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदी पनि यस प्रकरणमा संलग्न रहेको भन्दै उनीसहित सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरुका साथै पोखरामा कार्यरत केही पत्रकारलाई पक्राउ पुर्जी जारी गरिएको छ । यस ठगी प्रकरणमा यसअघि नै संस्थाका अध्यक्ष रमण पौडेल र कर्मचारी किरण अधिकारी पक्राउ परिसकेका छन् ।
बचतकर्ताहरुले रकम नपाएपछि दिइएको निवेदनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा देखिएका कैफियतहरु उपर छानबिन गर्दा यो गिरोहको संलग्नतामा सहकारीको २६ करोड भन्दा बढि रुपैयाँ हिनामिना गरेको तथ्य भेटिएको थियो ।

