आकाश खुले पनि काठमाडौमा आज सर्वाधिक चिसो !

काठमाण्डौ,१७मंसिर।बाहिर घाम लागेको भएपनि काठमाण्डौमा आज (आइतबार)यसवर्षको अहिलेसम्मकै चिसो भएको मौसमविदको भनाइ छ ।
आइतबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । शनिबार बिहानको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियो ।
काठमाण्डौमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सफा देखिएको छ । आज दिउसोको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस हुने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।
उनका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आंशिक बदली हुने सम्भावना छ । आज पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् ।


