एनएसएल: अन्तिम मिनेटमा गोल व्यहोर्दा पोखरा झापासँग बराबरीमा रोकियो

काठमाडौं, १६ मंसिर । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्स र झापा एफसीले बराबरी खेलेका छन् । शनिबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा पोखरा र झापाले १-१ गोलको बराबरी खेलेका हुन् ।
पोखराका लागि मोसेस ग्याबा तुमले पहिलो हाफमा गोल गरेका थिए भने झापाका समन्दर ओकिलोभले बराबरी गोल फर्काए । १८औं मिनेटमा जो ऐडोबाट आएको सुन्दर पासमा मोसेसले राम्रो हेडर गोल गरेका थिए । खेल सकिनै लाग्दा बक्सभित्र आएको बल प्रिसोले सेभ गरेको भएपनि रिबाउन्डमा पोस्टनजिकैबाट ओकिलोभले गोल गर्दै झापालाई हारबाट जोगाए ।
खेलको अन्त्यतिर पोखरा १० खेलाडीमा सीमित भएको थियो । ९०औं मिनेटमा सब्स्टिट्युट खेलाडी कमलबहादुर थापा दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
यस बराबरीसँगै पोखराले ३ खेलमा ५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ भने झापा २ खेलमा १ अंक जोडेर सातौं स्थानमा छ ।

