राष्ट्रिय खेलाडीले भरिएको आर्मीलाई हराउँदै मधेश च्याम्पियन

पोखरा, १५ मंसिर । मधेश प्रदेशले पोखरामा सम्पन्न केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलाडीले भरिपूर्ण टोली नेपाल आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोगिता जितेको हो ।
जितका लागि १३६ रनको मध्यम लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन मात्र बनायो । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । विवेक यादव २५ र सोमपाल कामी १६ रनमा अविजित रहे ।
मधेशका हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । प्रतिक यादवले ३ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । तल्लोक्रमका ब्याटर विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रनको अविजित इनिङ खेलेका थिए । हरिशंकर शाह २७ रनमा आउट भएका थिए ।
आर्मीका साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । विवेक यादवले ४ आभरमा ३० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।

