अष्ट्रेलियाको घरजग्गा कारोबारमा नेपाल आठौं नम्बरमा !

काठमाडौं, १७ मंसिर । अष्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले त्यहाँ हुने घरजग्गा कारोबार संग नेपालीको लगानी समेत जोडिएको एउटा डरलाग्दो तथ्य सार्वजनिक गरेको छ।

अष्ट्रेलियाको घरजग्गा व्यवसायमा वैदेशिक लगानी गर्ने नेपाल ८ औं नम्बरमा परेको तथ्य बाहिर आएपछि यो खुलासा भएको हो।यो त्यहा रहेका नेपालीले आर्जन गरेको सम्पत्तिबाट गरिएको लगानी नभै नेपालबाट अवैध ढंगबाट पुऱ्याइएको वैदेशिक लगानीको रुपमा भएको भनेर आलोचना र टिप्पणी समेत हुन थालेको छ।

यसै बिषयलाई राप्रपा प्रवक्ता मोहन श्रेष्ठले फेसबुकमै तीखो आलोचना गरेका छन्। उनले लेखेका छन् -‘देश आर्थिक संकटमा छ, आर्थिक रुपले देश यतिबेला शिथिल र दबाबमा छ। नेपालबाट झण्डै ७०० मिलियन डलर (नेपालमा एमसिसिको लगानीभन्दा बढी) अष्ट्रेलियाको रियल स्टेट व्यवसायमा लगानी भएको आधिकारिक रिपोर्ट हिजो मात्रै सार्वजनिक गरिएको छ। नेपालको ढुकुटी रित्याएर, नेपालमा पैसा नराखेर, नेपाललाई झण्डै टाट पल्टाउने अवस्थामा पुऱ्याएर यसरी विदेशमा पैसा कसले ? किन ? र कसरी कुन माध्यमबाट पुऱ्याइरहेको छ ? अष्ट्रेलिया जस्तो विकसित देशमा नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको देश कसरी आठौं वैदेशिक लगानीकर्ता देश बन्नसक्यो ? नेपालले यसको जवाफ खोजेन भने आगामी दिन झन् कठिन, जटिल बन्ने निश्चित छ।’

यसैगरी उनले फेसबुकमा राखेको तथ्य यस्तो छ-‘कोहीसंग यसको आधिकारिक प्रमाण नहुन सक्छ, बिल भरपाइ गरेर भ्रष्टाचार हुने पनि होइन तर यो पैसा सत्ताको निकट रहेका राजनीतिक, प्रशासनिक नेतृत्व, तिनका आसेपासे, लाभान्वित व्यवसायी, बिचौलियाहरुको भ्रष्टाचार गरिएको पैसा हो भन्नेमा कुनै शंका छैन । देशलाई खोक्रो बनाएर देशप्रति घात गर्नेहरु अपराधी हुन्। संसारका धनी देश सरह विदेशमा नेपालबाट पैसा लगानी गर्ने आर्थिक अपराधीहरुको पहिचान गरिनुपर्छ। यो त एउटा देशको मात्रै कुरा भयो, नेपालका भ्रष्टाचारी, कमिसनखोर व्यक्तिका यस्तै लगानी अन्य देशमा पनि भएको हुनसक्छ मात्रै होइन अवश्य छ।’

नेपालको नागरिकता समेत परित्याग गरेर विदेशको नागरिकता लिने, पिआर लिने, अनि नेपालमा सांसद, मन्त्री बन्ने, सार्वजनिक पदमा बस्ने, दलको नेता र कर्मचारी रहिरहनेको राज्यले कडाइका साथ विवरण लिनुपर्छ। भ्रष्टाचार गरेको अकुत सम्पत्ति विदेशमै बुझ्ने, विदेशमै खाता खोल्ने, विदेशको बैंक खातामा जम्मा गर्ने, विदेशमा रहेका आफन्त, साथीभाइ वा कुनै माध्यमबाट रियल स्टेट लगायतका व्यवसायमा विश्वको आठौं नम्बरमा पर्नेगरी लगानी गर्ने नवधनाढ्य नेपालीको पहिचान एशियाको गरिब देशको हामी गरिब नागरिकलाई गराइदिए राज्यप्रति आभारी हुने थियौं ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय