बुटवलमाथि ललितपुरको जीत, सिजनको पहिलो रातो कार्ड प्रशिक्षकलाई

काठमाडौं, ९ मंसिर । ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २-० गोलअन्तरले हराएको हो ।
ललितपुरको जीतमा दिनेश हेन्जन र अनन्त तामाङले १ १ गोल गरे । दुवै गोल पहिलो हाफमै भएका थिए । दोस्रो हाफमा बुटवलले सुधारिएको खेल प्रदर्शन गरेर गोल फर्काउने थुप्रै प्रयास गरेको भएपनि सफल भने हुन सकेन ।
खेलको २६औं मिनेटमा दिनेशले ओपन चान्समा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । गोलरक्षक अघि बढेको अवस्थामा पापा केबेबाट आएको सुन्दर पासमा दिनेशले बललाई पोस्टको दिशा दिएका थिए ।
३१औं मिनेटमा कप्तान अनन्तले हेडर गोल गर्दै टोलीलाई २ ० ले अगाडि बढाए । अनिल राईको कर्नरबाट आएको बललाई अनमार्क रहेका अनन्तले राम्रो हेड गर्दै गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट राम्रा अवसरहरुको सदुपयोग हुन सकेन र बुटवल पनि खेलमा फर्कन सकेन ।
खेलको अन्त्यतिर ललितपुरका प्रशिक्षक इयान गिलानले रातो कार्ड खाँदै बाहिर पठाइएका थिए । उनी दोस्रो खेलमा अफिसियल बक्समा देखिने छैनन् । एनएसएलको पहिलो रातो कार्ड प्रशिक्षकलाई गएको हो ।
यस जीतसँगै ललितपुरले ३ अंक जोडेको छ । यसअघि काठमाडौं रेजर्स र पोखरा थन्डर्सले आ-आफ्नो पहिलो खेल जितेका छन् ।

