अस्ट्रेलियामाथि भारतको रोमाञ्‍चक जित

काठमाडौं, ७ मंसिर । भारत र अस्ट्रेलियाको बीचमा सुरु भएको टी-२० श्रृंखलामा भारतले विजयी सुरुवात गरेको छ । बिहिबार भएको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले हराएको हो ।

अस्ट्रेलियाले दिएको २०९ रनको विशाल लक्ष्य भारतले १ बल अगावै ८ विकेटको क्षतिमा पूरा गर्‍यो । अन्तिम बलमा जीतका  लागि १ रन चाहिएको अवस्थामा रिंकु सिंहले छक्का प्रहार गरेपनि नो बल भएकाले उक्त नो बलको १ रन नै विजयी रन बन्यो । रिंकु २२ रनमा अविजित रहे । त्यसअघि कप्तान सूर्यकुमार यादवले ८० रन बनाए । त्यस्तै इशान किशनले ५८ रन बनाए ।

अस्ट्रेलियाका लागि तनभिर साँघाले ४ ओभरमा ४७ रन दिएर २ विकेट लिए भने जेसन बेहरनडर्फले ४ ओभरमा २५ रन दिएर १ विकेट लिँदा शन एबट र म्याथिउ शर्टले पनि १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जोश इङ्लिसले ११० रनको शतकीय पारी खेले । ५० बलमा उनले ११ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यस्तै स्टिभ स्मिथले ५१ रन बनाए । टिम डेभिड रनमा अविजित रहे । भारतका प्रसिद्ध कृष्णा र रवि विश्‍नोईले १-१ विकेट हात पारे ।

यस जीतसँगै भारतले ५ खेलको श्रृंखलामा १-० को अग्रता बनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय