विश्‍वकप छनौटमा अर्जेन्टिनाले ब्राजिललाई उसकै मैदानमा हरायो

काठमाडौं, ६ मंसिर । फिफा विश्‍वकप २०२६ को दक्षिण अमेरिकी छनौटअन्तर्गत बुधबार विहान भएको खेलमा अर्जेन्टिना विजयी भएको छ ।

अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाई उसैको मैदानमा १ ० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाको जीतमा निकोलस ओटामेन्डीले गरेको गोल नै निर्णायक बन्यो ।

खेलको ६३औं मिनेटमा जियोभानी लो सेल्सोको पासमा ओटामेन्डीले हेडर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि कुनै गोल हुन सकेन र अर्जेन्टिना १ ० ले विजयी भयो ।

खेलको ८१औं मिनेटमा जोयलिन्टनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । खेल सुरु हुने बेला मैदानमा दर्शकहरुले विवाद उत्पन्‍न गरेपछि खेल केही समय सुरु हुन सकेको थिएन ।

यस जीतसँगै ६ खेलमा १५ अंक जोडेको अर्जेन्टिना शीर्षस्थानमा यथावत् छ भने ब्राजिल ६ खेलमा ७ अंकसहित छैंटौं स्थानमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय