गाती कप फुटबलको उपाधि सुनखानी युवा क्लबले जित्यो

सिन्धुपाल्चोक, २५ कात्तिक । सिन्धुपाल्चोकमा सम्पन्न चौथो गाती सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सुनखानी युवा क्लबले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा सुनखानीेले अरनिको युवा क्लबलाई २-१ गोलअन्तरले हराउँदै च्याम्पियन बनेको हो । सुनखानीको जीतमा कुन्साङ श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठले १-१ गोल गरे । अरनिकोका लागि मदन पौडेलले गरेको गोल सान्त्वना बन्यो ।
त्यसअघि आजै भएको सेमिफाइनलमा सुनखानीले बछेलदेवी एफसी ‘बी’लाई तथा अरनिकोले आयोजक गाती युवा क्लब बी लाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।
च्याम्पियन बनेसँगै सुनखानीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित अरनिकोले ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझायो ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-६ गातीमा रहेको गाती युवा क्लबको आयोजनामा चार दिनसम्म चलेको प्रतियोगितामा १५ टोली सहभागी थिए । प्रतियोगिताका सम्पुर्ण खेलहरू श्री कालीदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा अवस्थित खेल मैदानमा सञ्चालन भएको थियो ।

