प्रकृतिसँग मितेरी यात्रा: ‘च्छोरोल्पा हिमताल’
पुष्कर नेपाल
२०७२ को भुकम्प र त्यसपछिको कोरोना संक्रमणका कारण थला परेको नेपालको पर्यटन व्यवसायले गति लिएको छ । यतिबेला विदेशी मात्रै नभै स्वदेशी पर्यटकले पनि नेपालका मुख्य पर्यटकीय क्षेत्र भरिभराउ हुन थालेका छन् ।
पछिल्लो समय नेपालमा आन्तरिक पर्यटनले गति लिएसंगै दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ९ गौरीशंकरमा अवस्थित च्छोरोल्पा हिमताल घुम्न जाने आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि भएको देखियो।

दशैंको विदामा ट्रेकिङ जाने क्रममा अन्नपूर्ण बेसक्याम्प,मुस्ताङ,मनाङ र बडिमालिका,पाथीभरा जस्ता उल्लेखनीय ठाउँ पछि यसपटक दोलखाको च्छोरोल्पा हिमताल लाई हामिले पनि आफ्नो गन्तव्य बनायौ।२०८० को बडादसैको टीका लगाएर त्यसको पर्सीपल्ट हाम्रो १० जनाको टोली च्छोरोल्पाको लागि अघि बढ्यौं । टोलीमा भाइ पुरु नेपाल समेत नवराज भट्टराई,रोशन नेपाल,गणेश गुरागाईं,ज्ञानेन्द्र सापकोटा ,हरि भट्टराई,प्रकाश खत्री,नेत्र गुरुङ र केशब अधिकारी थियौं ।
यतिबेला च्छोरोल्पा जाने अनुकुल समय पनि रहेछ। काठमाडौ बाट निस्केपछी काभ्रे,सिन्धुपाल्चोक र दोलखाको विभिन्न ठाउँको रमणीय दृश्यसंगै प्राकृतिक शुन्दरतामा रमाउन पुगेको हाम्रो टोली गाडीको यात्रापछि पैदल यात्रामा झन बढी रमाउन पुग्यौं ।
काठमाडौबाट छोटो दुरीमा पर्ने र पदमार्ग पनि सजिलो भएकाले च्छोरोल्पा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको हो। जुन कुरा हामीले पनि राम्रोसँग अनुभव गर्न सक्यौं । दोलखाको सदरमुकाम चरिकोटबाट अझै अगाडीसम्म गाडीमा र त्यहाँबाट हिडेर सिमीगाउँहुँदै च्छोरोल्पा पुगेर ४ दिनमै फर्किन सकिने अवस्था रहेछ ।
तर, हामीले थप एक दिन प्रकृतिसंग बिताउने प्रयास गर्यौं । किनभने बाटोमा अगाडि बढेपछि बास बस्न र खानेकुराको जोहो हुनसक्ने वा नसक्ने टुंगो नलागेको कारण हामिले एक दिनको यात्रा २ बजे नै बिट मार्यौ। पछि थाहा भयो त्यो हाम्रो निर्णय सहि भएछ । त्यसले हामीलाई हिंड्नैपर्ने दबाब मात्रै कम गरेन कि शारीरिक थकानलाई पनि विश्राम दियो र प्राकृतिक शुन्दरताको थप रसपान गरायो।

यस पदमार्गमा २०७२ सालको भूकम्पपछि स्वीस सरकारले पक्की र आकर्षक बाटो बनाएको रहेछ । अन्य गन्तव्यभन्दा यस क्षेत्रमा रहेका होटलहरुको बस्ने र खाने मेनु पनि सस्तो रहेको कारण हामीलाई यात्रामा कुनै कठिनाइ सहनु परेन ।हामीले जस्तै सहजता महसुस धेरैले गरेको हुनुपर्छ । त्यसैले पनि पर्यटकको रोजाइमा च्छोरोल्पा परेको हो।होटल व्यवसायीका व्यवहार राम्रो र सस्तो मेनु भएकाले पनि च्छोरोल्पा जान पर्यटकहरु उत्साही देखिने गरेको हामीले पायौं ।
दशैं तिहारको विदालाई सदुपयोग गर्न र बढी ट्रेकिङ रुचाउनेहरुका लागि अहिले च्छोरोल्पा गज्जब आकर्षण बन्न सक्छ। च्छोरोल्पा पुग्नको लागि सिमीगाउँ, सुर्मुचे, डोङाङ, वेदिङ, नागाउँहुँदै पुग्न सकिन्छ । यस हिमताल ४५८० मिटर उचाईमा रहेको छ ।
वरिपरि हिमाल,बीचमा ताल। तालको छेउकुनामा हिउँ र माथी हिमनदीको बहाब आहा ! यो सबै देख्दा लाग्छ कुनै कुशल चित्रकारले कोरेको अब्बल चित्र हो च्छोरोल्पा। त्यहाँ पुगेपछि सबैलाई लाग्छ शायद धर्तीको स्वर्ग यही हो !
तालसम्म पुग्न उकालो चढ्दै गर्दा थकानको महसुस हुनै नदिने प्रकृति अनि माथी पुगेपछिको त्यो शुन्दरता साच्चै शब्दमा वर्णन गर्न सक्ने अवस्था नै छैन। जो कोहि जब तालको किनारमा पुगेर उभिन्छन अनि त्यो उकालो चढ्दा उडेको अनुहारमा एकाएक अनुपम आनन्दको रंग भरिन्छ ।
यो ताल कुनै मानव सभ्यतासंगै उत्पत्ति भएको पनि होइन। जम्मा ५० वर्षअघि मात्र यो तालको उत्पत्ति भएको अनुमान गरिएको छ। सन् १९६३ मा यो हिमताल जम्मा ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो र सन् १९९७ मा लिएको भू–उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटर सम्म फैलिएको देखिन्छ। जानकार हरुका अनुसार १३५ मीटर गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको छ ।
तस्वीरहरु:













