युएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनौट

काठमाडौं, १७ कात्तिक । नेपाल आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी२० विश्वकपका लागि छनौट भएको छ । शुक्रबार भएको सेमिफाइनलमा युएईलाई हराउँदै नेपाल विश्वकपमा छनौट भएको हो ।
युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ बल अगावै २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि आसिफ शेखले अविजित रहँदै ६४ रन बनाए । कप्तान रोहित पौडेल ३४ रनमा अविजित रहे ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई १३५ रनको मध्यम लक्ष्य दिएको थियो । युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनायो ।
युएईका लागि वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । त्यस्तै कप्तान मोहम्मद वासिमले २६ रन बनाए । अलिशान सराफुले १६ रन बनाए ।
नेपालका कुशल मल्लले ३ ओभरमा ११ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा एक मेडनसहित १४ रन दिएर २ विकेट लिए । रोहित पौडेल र सोमपाल कामीले १ १ विकेट लिए ।

