विश्‍वकप छनौटको सेमिफाइनलमा नेपाल र युएई खेल्दै

काठमाडौं, १७ कात्तिक । आइसिसी टी२० विश्‍वकप एसिया फाइनल्सको सेमिफाइनलमा आज नेपाल र युएई खेल्दै छन् । खेल विहान ११ बजेदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुने छ ।

आजको यस सेमिफाइनल जित्‍ने टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी२० विश्‍वकपमा छनौट हुने छन् । नेपाल पछिल्लोपटकको विश्‍वकप छनौटमा युएईसँग नै सेमिफाइनलमा पराजित हुँदै विश्‍वकप खेल्नबाट वञ्‍चित भएको थियो ।

यसपटक नेपाल इतिहास बदलेर युएईलाई हराउँदै १० वर्षपछि विश्‍वकपमा छनौट हुने लक्ष्यका साथ मैदानमा उत्रने छ । पछिल्लोपटक अघिल्लो साता मुलपानीमा भएको त्रिकोणात्मक श्रृंखलाको समूह चरणका दुवै खेलमा नेपाल विजयी भएको थियो भने त्रिवि मैदानमा भएको फाइनलमा नेपाल पराजित भएको थियो ।

युएईलाई जित्‍न नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने हुन्छ । यस खेल हेर्नका लागि देशका विभिन्‍न स्थानबाट क्रिकेट समर्थकहरु काठमाडौं आएका छन् भने केही समर्थकहरु बेलुका नै मुलपानी वरपर आएर बसेका छन् ।

आजै त्रिवि क्रिकेट मैदानमा ओमान र बहराइनबीच अर्को सेमिफाइनल खेल हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय