प्रिन्सिपल हत्या प्रकरण: मुख्य योजनाकारसहित पाँच आरोपी सार्वजनिक

बारा, १५ कात्तिक । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको गोली प्रहार गरी हत्यामा संलग्न पाँचजना सार्वजनिक भएका छन् ।
बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकारसहित पाँच जनालाई सार्वजनिक गरेको हो। यस घटनामा मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की २२ वर्षीया राधा गुप्ता रहेको जनाइएको छ। उनी सोही स्कुलकी पूर्वलेखापाल समेत हुन्।
यस्तै, सोही विद्यालयमा वरिष्ठ लेखापालको भूमिकामा रहेका सोही ठाउँका ३४ वर्षीय जामिल अख्तर र कलैया-९ रामपुरका २६ वर्षीय रियाज अंसारी पक्राउ परेका छन्। उनीहरूले यस घटनामा सहयोगी भूमिका खेलेको कार्यालयले जनाएको छ।
यस्तै, प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गर्ने समूहका दुई भारतीय नागरिकहरू पनि पक्राउ परेका छन्। भारतको मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमार पक्राउ परेका छन्। उनीहरूले खबर संकलन र आदानप्रदान गर्ने गर्थे। गोली प्रहार गर्ने चार जना भने फरार रहेको प्रहरीले जनाएको छ।
भारत मोतिहारीका २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी छन्।
उनीहरू गत सोमबार दिउँसो पौने १ बजे कलैयास्थित मदरसा टोलमा मोटरसाइकलमा आएर प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

