कुवेतलाई हराउँदै युएई सेमिफाइनल नजिक

काठमाडौं, १४ कात्तिक । आइसिसी टी२० विश्वकप छनौट एसिया फाइनल्स अन्तर्गत आफ्नो दोस्रो खेलमा कुवेतलाई हराउँदै युएई सेमिफाइनल नजिक पुगेको छ । मुलपानीमा भएको खेलमा युएईले कुवेतलाई ५ विकेटले हरायो ।
कुवेतले दिएको ८९ रनको लक्ष्य युएईले १४.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । युएईको जीतमा कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए । त्यस्तै खालिद शाहले २३ रन बनाए । कुवेतका मोहम्मद अस्लमले ३ विकेट लिए भने यासिन पटेलले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८८ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दरुवानले सर्वाधिक २२ रन बनाएका थिए । युएईका जुनेद सिद्दिकी, अली नासिर, निलन्श केशवानी र जाहुर खानले २-२ विकेट हात पारेका थिए ।

