सिङ्गापुरद्वारा नेपाललाई मध्यम लक्ष्य

काठमाडौं, १३ कात्तिक । काठमाडौंमा सोमबारदेखि सुरु भएको आइसिसी टी-२० विश्वकप एसिया फाइनल्सको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरसँग खेलिरहेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्नका लागि नेपालले १४६ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।
सिङ्गापुरका लागि रोहन रङ्गराजनले सर्वाधिक ४६ रन बनाए । त्यस्तै आर्याविर चौधरीले ३७ रन बनाए । मनप्रित सिंहले २४ रन बनाए ।
नेपालका लागि अविनाश बोहराले ४ ओभरमा ४३ रन दिएर ३ विकेट लिए । त्यस्तै करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले २-२ विकेट लिए ।

