‘हाई स्कोरिङ थ्रिलर’मा अस्ट्रेलिया पाँच रनले विजयी

काठमाडौं, ११ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप अन्तर्गत शनिबारको पहिलो खेलमा अस्ट्रेलियाले रोमाञ्चक जीत हासिल गरेको छ । हाइ स्कोरिङ थ्रिलर बनेको खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले हराएको हो ।
अस्ट्रेलियाले दिएको ३८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले पूरा ५० ओभर खेलेर ९ विकेटको क्षतिमा ३८३ रन मात्र बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले शतकीय पारी खेले भने अन्त्यतिर जिमी निशमले पनि उत्कृष्ट पारी खेले पनि न्युजिल्यान्डको जीतका लागि केही मात्रामा पर्याप्त रहेन । रविन्द्रले ११६ रन बनाए । निशम एक बल बाँकी छँदा ५८ रनमा रनआउट भए । त्यसअघि डारिल मिचेलले ५४ रन बनाए ।
रविन्द्रले शतक बनाएर न्युजिल्यान्डलाई ऐतिहासिक जीतको बाटो तय गरेका थिए । त्यसपछि अन्त्यतिर निशमले न्युजिल्यान्डलाई जिताउन प्रयास गरेपनि २ बलमा ७ रन चाहिएको अवस्थामा २ रन लिँदा उनी रनआउट भए । त्यसपछिको बलमा लकी फर्गुशनले रन प्रहा गर्न सकेनन् र न्युजिल्यान्ड इतिहास रच्नबाट केवल ५ रनले चुक्यो । न्युजिल्यान्डले लक्ष्य भेट्टाएको भए विश्वकप इतिहासमा सर्वाधिक सफल रन चेज हुने थियो ।
अस्ट्रेलियाका एडम जाम्पाले १० ओभरमा ७४ रन दिएर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ६६ रन दिएर २ विकेट लिए । जोश हेजलवूडले ९ ओभरमा ७० रन दिएर २ विकेट लिए । ग्लेन म्याक्सवेलले १० ओभरमा ६२ रन दिएर १ विकेट लिए ।
त्यसअघि धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एकेडेमी रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले न्युजिल्यान्डलाई ३८९ रनको विशाल लक्ष्य दिएको थियो । अस्ट्रेलियाले चार बल अगावै अलआउट हुँदै ३८८ रन बनायो । ओपनर ट्राभिस हेड र डेभिड वार्नरले अस्ट्रेलियालाई आक्रामक सुरुवात दिलाएका थिए । दुई मिलेर पहिलो विकेटका लागि २० ओभर भित्रै १७५ रनको साझेदारी गरेका थिए ।
हेड ६७ बलमा १०९ रन बनाएर आउट भए । डेभिड वार्नरले ८१ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले ४१, जोश इङ्लिसले ३८, प्याट कमिन्सले ३७ तथा मिचेल मार्शले ३६ रन बनाए । स्टिभ स्मिथ र मार्नस लबुशानले समान १८ रन बनाए ।
न्युजिल्यान्डका ग्लेन फिलिप्सले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनरले २ विकेट लिँदा जिमी निशम र म्याट हेनरीले १-१ विकेट लिए ।
योसँगै अस्ट्रेलियाले जारी विश्वकपमा लगातार चौथो जीत निकालेको छ । ६ खेलमा ८ अंक भएको अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ । समान खेलमा समान अंक भएपनि नेट रनरेटका आधारमा न्युजिल्यान्ड तेस्रो स्थानमा छ ।

