त्रिदेशीय सिरिजमा हङकङको सान्त्वना जीत, हारका बाबजुद युएई फाइनलमा

काठमाडौं, ८ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलाको उपाधिका लागि नेपाल र युएई खेल्ने भएका छन् । बुधबार भएको समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएर समान २ अंक भएपनि युएई नेट रनरेटका आधारमा फाइनलमा पुगेको हो ।
बुधबार भएको खेलमा हङकङले युएईलाई रनले हरायो । जीतका लागि २१४ रनको विशाल लक्ष्य पछ्याएको युएईले पूरा २० ओभर खेल्दै ५ विकेट गुमाएर १४३ रन मात्र बनायो । उसका लागि खालिद शाहले सर्वाधिक ३५ रन बनाए । त्यस्तै निलन्श केशवानी ३१ रनमा र बासिल हामिद ३० रनमा अविजित रहे । अलिशान शराफुले ३० रन बनाए ।
हङकङका लागि यासिम मुर्ताजा, एहसान खान, आयुष शुक्ला र नसरुल्ला रानाले १-१ विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले विशाल योगफल बनाएको थियो । हङकङले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१२ रन बनायो ।
हङकङका लागि ओपनर मार्टिन कोट्जी र बाबर हायातले विस्फोटक पारी खेले । कोट्जी ५५ बलमा ८६ रन बनाएर आउट भए भने बाबर हायात २० बलमा ६० रनमा अविजित रहे । कोट्जीले १० चौका र ४ छक्का प्रहार गरे भने बाबरले ५ चौका र ५ छक्का हिर्काए ।
त्यस्तै अन्शुमन राथ ४१ रनमा आउट भए । युएईका आकिफ राजा, निलन्श केशवानी र सन्चित शर्माले १-१ विकेट लिए ।

