त्रिकोणात्मक श्रृंखला: समूह चरणको अन्तिम खेलमा आज हङकङ र युएई खेल्दै

काठमाडौं, ८ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखला अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज हङकङले युएईसँग खेल्दै छ । मुलपानी क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि खेल सुरु हुने छ ।
यस खेललाई फाइनल प्रवेशका लागि निर्णायक खेलका रुपमा हेरिएको छ । हङकङमाथि ठुलो अन्तरको जीत निकाल्नुपर्ने दबाब छ भने युएई सामान्य अन्तरको जीत पर्याप्त हुनेछ ।
श्रृंखलामा हङकङ तीनवटै खेलमा पराजित हुँदा युएईले हङकङलाई हराएको थियो । नेपाल भने आफ्ना चारवटै खेल जितेर फाइनलमा प्रवेश गरिसकेको छ । आजको खेलपछि नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लाग्ने छ ।
आजको खेलमा हङकङले विशाल जीत निकालेको खण्डमा हङकङ नेपालसँग फाइनल खेल्ने छ । त्यस्तै युएईले जीत निकालेको खण्डमा नेपाल र युएईबीच फाइनल खेल हुने छ ।
फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ ।

