विश्वकपमा आज दुई अपराजित टोली भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, ५ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप २०२३ अन्तर्गत आइतबार दुई अपराजित टोलीबीच खेल हुँदै छ । भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै छन् ।
धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट रङ्गशालामा दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ । दुई टोली लगातार पाँचौं जीतको खोजीमा मैदान उत्रने छन् ।
भारत र न्युजिल्यान्ड दुवैले हालसम्म खेलेका चारवटै खेल जितेका छन् । भारतले अस्ट्रेलिया, अफगानिस्तान, पाकिस्तान र बङ्गलादेशलाई हराउँदा न्युजिल्यान्डले इंग्ल्यान्ड, नेदरल्यान्ड्स, बङ्गलादेश र अफगानिस्तानलाई हराएको छ ।
अघिल्लोपटक फाइनलमा नमीठो हार व्यहोरेको न्युजिल्यान्ड योपटक सुरुवातदेखि नै उच्च फर्ममा देखिएको छ । घरेलु टोली भारत पनि उत्कृष्ट लयमा छ ।

