एनआरएनएमा समानान्तर समिति, अध्यक्षमा आर.के शर्मा

काठमाडौं, ५ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएन) दुई टुक्रा भएको छ। असोज ३० देखि काठमाडौमा जारी महाधिवेशनमा चुनावी परिणामको विषयलाई लिएर असन्तुष्टि बढेपछि छुट्टाछुट्टै  दुई समिति घोषणा भएका हुन् ।

बिहिबार भएको निर्वाचनमा सिस्टम ह्याक गरेर निर्वाचन परिणाम अध्यक्षका उम्मेदवार बद्री केसीको पक्षमा पारेको भन्दै शुक्रबार दिनभर अध्यक्षका अरु प्रत्यासी आर.के शर्मा र महेशकुमार श्रेष्ठ पक्षले नाराबाजी र परिणाम अस्विकार गरेको थियो । त्यसपछि बेलुकी त्रीपक्षीय सहमतिमा निर्वाचनका सबै प्रक्रिया रोकी १५ दिनभित्र नयाँ निर्णय लिने भनिएको थियो।

उक्त सहमतिबाट पछि हट्दै केसीले शनिबार दिउओ निर्वाचित अध्यक्षको हैसियतमा सपथ लिएपछि अर्को पक्ष समानान्तर समिति घोषणामा पुगेको हो । यो समुहले पनि आफुलाइ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै हो भनेको छ ।

अध्यक्षका प्रत्याशी आर.के शर्मा र महेसकुमार श्रेष्ठले शनिबार बेलुकी नै ११औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको भन्दै कार्यसमिति पदाधिकारी र सदस्यको घोषणा गरेको छ ।

बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो । यो समिति नै आधिकारिक भएको उनीहरूले दाबी समेत गरेका छन् ।

समानान्तर कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।

महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् ।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन् ।

यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन् ।

शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए ।

निर्वाचित अध्यक्ष शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै बिहिवार भएको निर्वाचनमा बद्री केसी पक्षले धाँधली गरेको पुष्टि हुने बताए । उनले धाँधली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था किन हुन्थ्यो ? गैर आवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने र त्यो आफ्नो नेतृत्वले पूरा गर्ने बताए । त्यस्तै महेशकुमार श्रेष्ठले सीमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाउदै आफुहरुको कार्यसमिति आधिकारिक भएको बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय