त्रिकोणात्मक श्रृंखलाले विश्वकप छनौटका लागि राम्रो तयारी हुने कप्तानको विश्वास

काठमाडौं, ३० असोज । बुधबारदेखि काठमाडौंमा सुरु हुने नेपाल, हङकङ र युएई सम्मिलित त्रिकोणात्मक श्रृंखलाको ट्रफी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले मङ्गलबार एक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो ।
हङकङको टोली भने आइपुग्न केही ढिला भएकाले नेपालका कप्तान रोहित पौडेल र युएईका कप्तान मोहम्मद वासिमले ट्रफी सार्वजनिक गरेका थिए । दुवै कप्तानले यस श्रृंखला आगामी टी२० विश्वकप छनौटका लागि राम्रो तयारी हुने विश्वास व्यक्त गरेका छन् ।
युएईका कप्तान वासिमले यस प्रतियोगिताको आयोजना गरेकामा क्यानलाई धन्यवाद दिँदै खेल्न आतुर रहेको प्रतिक्रिया दिए । नेपालले पछिल्लो समयमा राम्रो खेलिरहेको बताउँदै उनले आफूहरुले पनि उत्कृष्ट क्रिकेट खेल्दै नेपाललाई चूनौति दिने खेल पस्किने बताए ।
नेपालका कप्तान रोहित पौडेलले पनि विश्वकप छनौटका लागि राम्रो तयारी हुने बताउँदै प्रतियोगिता जितेर टी२० विश्वकप छनौटका लागि मनोबल उच्च राख्ने बताए । सन्दीप लामिछानेको अभावले भने केही असर पर्न सक्ने बताउँदै उनले टोलीले सकेको राम्रो प्रयास गर्ने बताए ।
त्रिकोणात्मक श्रृंखलाका खेलहरु डबल राउन्ड रोबिन लिगमा खेलाइनेछ । प्रत्येक टोलीले एकअर्कासँग २ २ खेल खेल्ने छन् । शीर्ष २ मा रहने टोलीले फाइनल खेल्ने छन् ।
टी२० विश्वकप एसिया छनौट नेपालमै आउँदो कात्तिक १३ गतेदेखि सुरु हुने छ ।

