चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्‍चालनमा, कहाँ-कहाँ छन् ?

काठमाडौं, २१ असोज । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सस्तो पसल आजबाट सञ्चालनमा ल्याएको छ । ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल सञ्चालन हुनेछन् ।

यस्तै, काठमाडौं उपत्यकामा आठ बिक्री केन्द्र र तीन घुम्ती पसल गरि ३५ स्थानमा बिक्रीस्थल हुनेछन् । उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ । खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्ने जनाएको छ ।

यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौं उपत्यकाका सतुंगल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ ।

काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम-पूर्व र रुकुम-पश्चिममा पनि सुपथ पसल सञ्चालन हुनेछन् ।

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सुपथ मूल्य पसल रहनेछन् ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीलाई सहुलियत दिन १ करोड रुपैयाँ छुट्याएको छ । साल्टले चीनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नु पर्नेछ । यस्तै, बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई रुपैयाँ छुट दिनुपर्ने छ ।

तेल तथा चिउरामा प्रतिलिटर/प्रतिकिलो ७ रुपैयाँ कममा बेच्नु पर्नेछ । यस्तै, दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलोे २०, पनिरमा प्रति २ सय ग्राममा २० रुपैयाँ छुट दिने जनाएको छ ।

सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सन्चालन हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय